दस्तावेज तथा स्रोत सामग्री
उज्यालो नेपाल पार्टीका सबै आधिकारिक दस्तावेज र स्रोत सामग्रीहरू
निर्वाचन प्रतिबद्धता पत्र, २०८२
यो निर्वाचन प्रतिबद्धता पत्र उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचन २०८२ को लागि तयार पारेको हो। यसमार्फत पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्दै नागरिकमैत्री सेवा प्रवाह, डिजिटल र पारदर्शी प्रशासन, जवाफदेही नेतृत्व र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको स्पष्ट प्रतिबद्धता जनाएको छ। शासन खर्च घटाउन सांसद तथा मन्त्रालय संख्या कम गर्ने, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था, विदेशमा रहेका नेपालीका लागि मतदान सहजता र ‘नो भोट’ विकल्प जस्ता सुधारका प्रस्तावहरू समेटिएका छन्। साथै स्वदेशी पूँजी र लगानी प्रवर्द्धन, जलविद्युत् उत्पादन वृद्धि र निर्यात, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, आईटी र उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्यसहित शिक्षा र स्वास्थ्यमा निःशुल्क तथा गुणस्तरीय सेवा, युवा स्टार्टअप सहयोग, पूर्वाधार विकास र विपद् जोखिम न्यूनीकरण लगायत कार्यक्रमहरू प्रस्तुत गरिएको छ।
उज्यालो नेपाल पार्टीको निर्वाचन प्रतिवद्धता–पत्र (सारांश)
उज्यालो नेपाल पार्टीको यो प्रतिबद्धता–पत्रको सारसंक्षेपमा सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी राज्य सञ्चालनलाई चुस्त, किफायती र परिणाममुखी बनाउने कुरा उल्लेख गरिएको छ। यसमा सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गर्ने, प्रशासनलाई डिजिटल र पारदर्शी बनाउने, सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको वार्षिक अनलाइन सम्पत्ति विवरण सार्वजनिक गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाई दोषीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध, गैरकानुनी सम्पत्ति राष्ट्रियकरण र “उज्यालो हटलाइन” सञ्चालन गर्ने व्यवस्था, प्रशासनिक खर्च घटाउन प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या तथा मन्त्रालय संख्या घटाउने र राज्यमन्त्री तथा सहायकमन्त्री नराख्ने, प्रदेश स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने अवधारणा, २०३० सम्म $७० अर्ब र २०३५ सम्म $१११ अर्ब कुल गार्हस्थ्य उत्पादन पुर्याउने, निर्यात विस्तार र वार्षिक ९ देखि १५ लाख रोजगारी सिर्जना गर्ने, २०३० सम्म १२,००० मेगावाट र २०३५ सम्म २५,००० मेगावाट जलविद्युत उत्पादन गरी निर्यातबाट राजस्व बढाउने, कृषिमा डिजिटल पहिचानमार्फत अनुदान, जैविक कृषि विस्तार र सिँचाइका लागि निःशुल्क विद्युत, शिक्षातर्फ तोकिएका संस्थामार्फत विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा, स्वास्थ्यतर्फ निःशुल्क उपचार र वडास्तरमा मानसिक स्वास्थ्य सेवा, तथा सरकार गठनपछि हरेक वर्ष कार्यान्वयन प्रगतिको “रिपोर्ट कार्ड” सार्वजनिक गर्ने प्रतिवद्धता समेटिएको छ।
उज्यालो नेपाल पार्टी घोषणापत्र
सुशासन, समृद्धि र सामाजिक न्यायको प्रतिबद्धता
उज्यालो नेपाल पार्टीको यो घोषणापत्रले विगतका राजनीतिक असफलता, भ्रष्टाचार र कुशासनको विकल्पका रूपमा नयाँ राजनीतिक संस्कार, सक्षम नेतृत्व र परिणाममुखी शासन प्रणालीमार्फत सुशासन, समृद्धि र सामाजिक न्याय स्थापना गर्ने दृढ संकल्प प्रस्तुत गर्दछ । जेन जी युवाको ऐतिहासिक आन्दोलनबाट प्रेरित भई स्थापित यो पार्टीले नेपालको संविधानलाई आधार मानी लोकतन्त्र, विधिको शासन, नागरिक स्वतन्त्रता, समावेशिता र राष्ट्रिय हितलाई सर्वोच्च मान्दछ । पार्टीले संघीय संरचनालाई व्यवहारिक र प्रभावकारी बनाउने, निर्वाचन प्रणाली र शासन संरचनामा सुधार गर्ने, पारदर्शी र जवाफदेही राज्य सञ्चालन गर्ने तथा भ्रष्टाचारमाथि कठोर प्रहार गर्ने नीति लिएको छ । आत्मनिर्भर अर्थतन्त्र, स्वदेशी पूँजी परिचालन, ऊर्जा, उद्योग, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिँदै देशभित्र र विदेशमा रहेका नेपालीको ज्ञान, सीप र लगानीलाई राष्ट्र निर्माणमा जोड्ने लक्ष्य लिइएको छ । सक्षम, इमानदार र प्रतिबद्ध नागरिकको सहभागितामा नयाँ युगको सुरुआत गर्दै उज्यालो भविष्य सहितको उज्यालो नेपाल निर्माण नै यस घोषणापत्रको मूल सार हो ।
उज्यालो नेपाल पार्टी विधान
सुशासन, समृद्धि र सामाजिक न्यायको प्रतिबद्धता
उज्यालो नेपाल पार्टीको विधान २०८२ ले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ८(२) र नेपालको संविधान २०७२ को धारा २६९ बमोजिम पार्टीलाई लोकतान्त्रिक, समावेशी, पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्ने आधार दस्तावेजको रूपमा व्यवस्था गरेको छ । विधानले प्रस्तावनामा नेपालका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विशेषता स्मरण गर्दै विगतका राजनीतिक परिवर्तनपछि पनि जनअपेक्षा अनुरूप स्थिरता, सुशासन, समृद्धि, सामाजिक न्याय हासिल हुन नसकेको यथार्थलाई स्वीकार गरेको छ । यसले जेन–जी आन्दोलनसहित विभिन्न जनसंघर्षको सम्मान गर्दै प्रणालीगत सुधार, नयाँ राजनीतिक संस्कृतिको स्थापना, सुसासन, समृद्धि र सामाजिक न्यायलाई मूल उद्देश्यका रूपमा अघि सारेको छ, साथै प्रविधि, नवप्रवर्तन, उद्यमशीलता, रोजगारी, जलवायु अनुकूलन र विपद उत्थानशील समाज निर्माणलाई प्राथमिकतामा राखेको छ ।
विधानले पार्टीका आधारभूत सिद्धान्तका रूपमा सहभागितामूलक समावेशी लोकतन्त्र, सामुदायिक समाजवाद, बहुसांस्कृतिकतावाद र राष्ट्रिय एकतालाई स्थापित गरेको छ । यसले संविधानको सर्वोच्चता, मानव अधिकार, प्रेस स्वतन्त्रता, भ्रष्टाचारमा शून्य सहनशीलता, योग्यतामा आधारित निष्पक्ष चयन, डिजिटल डेमोक्रेसी, युवामुखी नेतृत्व र सन्तुलित परराष्ट्र नीतिप्रति पार्टीको प्रतिबद्धता स्पष्ट गरेको छ । साथै, विधानले संघीयदेखि वडा तहसम्म पार्टी कार्यालय र संगठनात्मक संयन्त्र, महाधिवेशन र परिषद्, संघीयदेखि वडा कमिटी, अनुशासन, लेखा तथा निर्वाचन आयोग, विज्ञ परिषद् र विषयगत विभागहरू लगायत संरचनागत व्यवस्था निर्धारण गरेको छ । सदस्यताका प्रकार, योग्यता, शुल्क, नवीकरण, अधिकार र कर्तव्य, प्रत्यक्ष निर्वाचन प्रणाली, पदावधि तथा महिला र युवाको न्यूनतम प्रतिनिधित्व जस्ता व्यवस्थामार्फत पार्टी सञ्चालन र निर्णय प्रक्रियालाई चुस्त, दुरुस्त बनाउने प्रयास गरेको छ ।
कुनै दस्तावेज उपलब्ध छैन
यस श्रेणीमा हाल कुनै दस्तावेज उपलब्ध छैन।
कुनै दस्तावेज उपलब्ध छैन
यस श्रेणीमा हाल कुनै दस्तावेज उपलब्ध छैन।
कुनै दस्तावेज उपलब्ध छैन
यस श्रेणीमा हाल कुनै दस्तावेज उपलब्ध छैन।
कुनै दस्तावेज उपलब्ध छैन
यस श्रेणीमा हाल कुनै दस्तावेज उपलब्ध छैन।
कुनै दस्तावेज उपलब्ध छैन
यस श्रेणीमा हाल कुनै दस्तावेज उपलब्ध छैन।