उज्यालो नेपाल पार्टीको तेस्रो सचिवालय र दसौँ केन्द्रीय समिति बैठक सम्पन्न
उज्यालो नेपाल पार्टीको तेस्रो सचिवालय बैठक तथा दसौँ केन्द्रीय समिति बैठक एवं नेतृत्व प्रशिक्षण विभिन्न महत्वपूर्ण राजनीतिक, वैचारिक तथा संगठनात्मक विषयमा छलफल गर्दै सम्पन्न भएको छ।
पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा साउन ७ र ८ गते गते सम्पन्न तेस्रो सचिवालय बैठकमा पार्टीको वैचारिक दिशा, समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामकारबाहीको समीक्षा, हरित क्रान्तिको अवधारणा, संगठन विस्तार, तीनमहिने संगठनात्मक कार्ययोजना, अन्तरपार्टी संवाद, निर्वाचन रणनीति तथा विभिन्न कार्यविधि र निर्देशिकाका मस्यौदामाथि छलफल भएको थियो।
त्यसैगरी साउन ९ देखि ११ गतेसम्म सम्पन्न दसौँ केन्द्रीय समिति बैठक तथा नेतृत्व प्रशिक्षणमा पार्टीको वैचारिक आधारलाई थप स्पष्ट बनाउने, प्रदेश तथा संगठनको अवस्थाको समीक्षा गर्ने, पार्टी सञ्चालनसम्बन्धी कार्यविधि तथा निर्देशिकालाई व्यवस्थित गर्ने, केन्द्रीय सदस्यहरूको कार्यसम्पादन मूल्याङ्कन, जिल्लागत जिम्मेवारी निर्धारण तथा नेतृत्व विकासका विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकले हरित क्रान्तिमा आधारित राष्ट्रिय रूपान्तरण, संगठन विस्तार, सदस्यता अभियान, आगामी निर्वाचनको तयारी, अन्तरपार्टी संवाद, समावेशी प्रतिनिधित्व, सञ्चार तथा प्रशिक्षण, प्रवास संगठन विस्तार, स्रोत परिचालन र संस्थागत सुशासनलाई पार्टीका महत्वपूर्ण कार्यभारका रूपमा अघि बढाउने दिशा तय गरेको छ।
पार्टी संगठनलाई थप सक्रिय र परिणाममुखी बनाउन केन्द्रीय सदस्यहरूको नियमित सम्पर्क र कार्यालय उपस्थितिलाई प्रभावकारी बनाउने, कार्यक्रम तथा गतिविधिको नियमित सूचना आदानप्रदान गर्ने, पार्टीभित्र छलफल र अन्तरक्रियाको अभ्यासलाई विस्तार गर्ने तथा महिला, दलित, लोपोन्मुख तथा पछाडि पारिएका समुदायको समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिने विषयमा पनि बैठकमा जोड दिइएको छ।
बैठकले उज्यालो नेपाल पार्टीलाई नीति, विचार, संगठन, नेतृत्व र जनसम्पर्कका दृष्टिले थप संस्थागत र सुदृढ बनाउँदै देशव्यापी रूपमा संगठन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीले सुशासन, आर्थिक समृद्धि, सामाजिक न्याय, समावेशिता र हरित विकासलाई केन्द्रमा राख्दै नागरिकको विश्वास प्राप्त गर्ने राजनीतिक शक्तिका रूपमा अगाडि बढ्ने जनाएको छ।