Skip to Content

उज्यालो नेपाल पार्टीको निर्वाचन प्रतिवद्धता–पत्र (सारांश)

उज्यालो नेपाल पार्टीको निर्वाचन प्रतिवद्धता–पत्र (सारांश)
February 15, 2026 by
उज्यालो नेपाल पार्टीको निर्वाचन प्रतिवद्धता–पत्र (सारांश)
Administrator

३ फागुन, काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखिएको नागरिकमुखी रोडम्याप प्रस्तुत गर्नुभएको हो।


प्रतिबद्धता–पत्रले राज्य सञ्चालनको खर्च घटाएर शासन प्रणालीलाई चुस्त, पारदर्शी र जवाफदेही बनाउने स्पष्ट दिशा दिएको छ। सोही उद्देश्यअनुसार पार्टीले प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ मा घटाउने र सातै प्रदेशका प्रदेशसभा सदस्य संख्या ५५० बाट ३३० मा झार्ने प्रतिबद्धता गरेको छ। संघीय तथा प्रदेश सरकारको मन्त्रिपरिषद् आकार घटाउन संघीय मन्त्रालय १५ वटामा सीमित गर्ने, प्रदेश मन्त्रालय ५ देखि ७ वटामा सीमित गर्ने, तथा राज्यमन्त्री र सहायकमन्त्री नराख्ने नीति पनि प्रतिबद्धता–पत्रमा समेटिएको छ। प्रदेशमा स्थायित्व र प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्न मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने अवधारणा समेत अघि सारिएको छ


सुशासनका क्षेत्रमा उज्यालो नेपाल पार्टीले नागरिकले सार्वजनिक सेवा समयमै पाउने अधिकारलाई सुनिश्चित गर्ने, प्रशासनलाई डिजिटल र पारदर्शी बनाउने, तथा सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको वार्षिक सम्पत्ति विवरण अनलाइनमार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाएको छ। भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै दोषीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध, गैरकानुनी सम्पत्ति राष्ट्रियकरण, उजुरीकर्तालाई ५ प्रतिशत पुरस्कार, तथा नागरिक पहुँचका लागि “उज्यालो हटलाइन” सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।


समृद्धि र रोजगारी विस्तारका लागि पार्टीले सन् २०३० सम्म कुल गार्हस्थ्य उत्पादन $७० अर्ब र २०३५ सम्म $१११ अर्ब पुर्याउने लक्ष्य निर्धारण गरेको छ। निर्यात $२० अर्बसम्म विस्तार गर्ने, वार्षिक ९ देखि १५ लाख रोजगारी सिर्जना गर्ने, र समग्र अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने रणनीति प्रतिबद्धता–पत्रमा उल्लेख छऊर्जा क्षेत्रमा २०३० सम्म १२,००० मेगावाट र २०३५ सम्म २५,००० मेगावाट जलविद्युत उत्पादन गर्ने, भारत, बंगलादेश र चीनतर्फ विद्युत निर्यात बढाई वार्षिक $५ अर्ब राजस्व आर्जन गर्ने लक्ष्य राखिएको छ


शिक्षा र स्वास्थ्यमा जनताको पहुँच विस्तार गर्न जनताको जलविद्युत कोषबाट तोकिएका संस्थामार्फत विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा र निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छकृषि क्षेत्रमा डिजिटल पहिचानमार्फत अनुदान वितरण, ५० प्रतिशत कृषि क्षेत्रलाई जैविकमा रूपान्तरण, सिँचाइका लागि निःशुल्क विद्युत, तथा युवा किसानका लागि सहुलियत ऋण उपलब्ध गराउने नीति अघि सारिएको छ।


उज्यालो नेपाल पार्टीले सरकार गठन भएपछि हरेक वर्ष प्रतिबद्धता–पत्र कार्यान्वयन प्रगतिबारे “रिपोर्ट कार्ड” सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ“गफ होइन काम, भाषण होइन परिणाम” को मूल नारासहित उज्यालो नेपाल पार्टीले नागरिकको भरोसा जित्ने परिणाममुखी शासनमार्फत देशमा सकारात्मक परिवर्तन ल्याउने दृढ संकल्प व्यक्त गरेको छ।